बाढी पिडितको दु:ख मा मलम बन्दै नमोबुद्ध नगरपालिका

बाढी पिडितको दु:ख मा मलम बन्दै नमोबुद्ध नगरपालिका
SASA INFOSYS

बनेपा ३ असार ।

मंगलबार राती आएको बाढीका कारण अस्तव्यस्त बनेको मेलम्चीका लागि नमोबुद्ध नगरपालिकाले सहयोग गरेको छ । 

पालिका–पालिकाबीच सहकार्यको नयाँ सुरुवात गर्दै काभ्रेको नमोबुद्ध नगरपालिकाले छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिक सँगै खाद्यान्न समेत सहयोग गरेको छ । आज मेलम्ची पुगेर नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको नेतृत्वमा रहेको टोलीले मेलम्ची नगरपालिका प्रमुख डम्बरवहादुर अर्याललाई नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधा तथा कर्मचारीको एक दिनको तलब तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको चेक तथा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले मेलम्ची नगर प्रमुखलाई पठाउनुभएको लिखित सन्देशसमेत हस्तान्तरण गर्नुभएको छ ।

नमोबुद्ध नगरपालिका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले मेलम्ची नगर प्रमुखलाई पठाउनुभएको लिखित सन्देश

नमोबुद्धले ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको छ ।
मेलम्ची नगरपालिकामा बाढीबाट विस्थापित नागरिकहरु स्थानीय इन्द्रेश्वरी माध्यामिक विद्यालयमा बसिरहेका छन । मेलम्ची नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरणको व्यवस्था मिलाईएको छ । विद्यालयमा पीडितहरुका लागि खाने बस्ने लगायतका सुविधा प्रदान गरिएको छ । मेलम्ची नगर प्रमुख अर्यालले नगरपालिकाभित्र २५ करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी दिनुभयो ।