कानुनको धज्जी उडाउँदै तेमालका अध्यक्ष र उपाध्यक्ष

कानुनको धज्जी उडाउँदै तेमालका अध्यक्ष र उपाध्यक्ष
SASA INFOSYS

बनेपा १३ भाद्र । 

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा र उपाध्यक्ष दुर्गामाया तामाङले आफैले गरेको निर्णय उल्लंघन गरेका छन् । गाउँपालिकाले २०७८ भदौ १ गते सुचना प्रकाशन गर्दै भिडभाडजन्य क्रियाकलाप नगर्न सुचना जारी गरेको थियो । त्यस्तै तेमाल गाउँपालिका–५ पोखरी नारयणस्थान स्थित धार्मिक तथा पर्यटकिय दृष्किोणले प्रसिद्ध सत्यनारायण मन्दिरमा जनैपूर्णिमा मेला लाग्दै आएकोमा यस वर्ष कोरोना संक्रमणका कारण मेला नगर्न÷नगराउन पनि अनुरोध गरेको थियो । तर त्यसको १० दिनपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आफै उपस्थित भएर तेमाल गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन तामझामका साथ उद्घाटन गरिएको छ । वडा कार्यालय उद्घाटन समारोहमा सयौंको संख्यामा उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष लामाले आफै भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गर्ने र आफै सयौंको संख्यामा मानिसहरु उपस्थित रहेको कार्यक्रमलाई सम्बोधन गर्नुले गाउँपालिका अध्यक्ष जनताको स्वास्थ्य बारे चिन्तित छैनन् भन्ने स्पष्ट भएको छ । वडा कार्यालय उद्घाटन कार्यक्रममा उपस्थितले न्युनतम स्वास्थ्य मापदण्ड समेत पालना गरेका थिएनन् ।

कार्यक्रममा गायक विशाल काल्तान, जितु लोप्चन, शशिकला मोक्तान, नायक अमिर दोङ, गायिका निर्मला घिसिङ, नायिका सुष्मा मोक्तान लगायतले मनोरन्जनात्मक प्रस्तुती दिएका थिए । त्यहि कारण पनि स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । यता, जिल्ला प्रशासन कार्यालय काभ्रेले ३ गते जारी गरेको सुचनामा आगामी भदौ १५ गतेसम्म कुनै पनि प्रकारका भेला, जुलुस, सम्मेलन लगायतका कार्य नगर्न आग्रह गरेको थियो । तर वडा कार्यालय उद्घाटन कार्यक्रम जिल्ला प्रशासन कार्यालय र गाउँपालिका अध्यक्ष सलाम सिं लामा आफैले जारी गरेको सुचनालाई बेवास्ता गर्दै कार्यक्रम गरिएको हो । जिल्ला प्रशासन कार्यालयले आदेश अवज्ञा गर्ने जो कोहिलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार सजायँ हुने उल्लेख गरिएको छ । तर तेमालमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष सहित उपस्थित भएर तामझामका साथ गरिएको कार्यक्रमका बारे समेत जिल्ला प्रशासन कार्यालय बेखबर देखिएको छ ।

सयौंको संख्यामा मानिसहरु उपस्थित गराई उक्त कार्यक्रम गाउँपालिका अध्यक्षले सम्बोधन गर्दाको केहि तस्विरहरु