त्रिविको फाराम असार ७ गतेसम्म भर्न सकिने र परीक्षा भौतिक उपस्थितिमा हुने
बनेपा ३ असार ।
गत स्नातक पहिलो वर्षको परीक्षा फाराम अनलाइन खुलाइएको थियो । फाराम भर्न प्राविधिक समस्या आएपछि पायक पर्ने आंगिक क्याम्पसमा फाराम भर्ने व्यवस्था गरियो ।
जेठ मसान्तसम्म फाराम भर्ने अन्तिम समय तोकिएपनि विद्यार्थीले समय बढाउन माग गरेपछि यो साताभर समय दिइने नियन्त्रक जोशीले बताए । उनले भने, ‘असार ४ गतेसम्म अन्तिम समय तोकिए पनि विविध कारणले विद्यार्थीले फाराम भर्न नसकेको गुनासो आइरहेकोले सात गतेसम्म समय बढाइएको छ ।’
१४ सय विद्यार्थी भएको क्याम्पसमा बिहीबार मध्यान्हसम्म ११ सय जनाले मात्रै फाराम भरेको जानकारी पाएको जोशीले बताए ।
परीक्षा भौतिक उपस्थितिमा हुने
त्रिविले सञ्चालन गर्ने सबै परीक्षा भौतिक उपस्थितिमा नै हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
अनलाईन परीक्षा फाराम भर्न नसक्ने अवस्था रहेका विद्यार्थीलाई अनलाइन परीक्षा गराउन सम्भव नहुने परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् । उनले भने ‘परीक्षा फाराम भर्न समस्या हुने स्थानका विद्यार्थीहरु छन् । परीक्षा गराउन त सम्भव छैन । त्यसैले विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा दिन पाउने व्यवस्था हुनेछ ।’
असार ७ गतेपछि निषेधाज्ञाको स्वरुप कस्तो हुने भन्ने निर्णय सार्वजनिक भए लगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यलयले गरेको छ । साथै असार १० पछि केही दिनको लागि परीक्षा केन्द्र रोज्ने अवसर दिइनेछ ।

